निर्वाचन आयोगमा छलफल : प्रधानमन्त्रीद्वारा चुनावको तयारी तीव्र बनाउन आग्रह (भिडियोसहित)

admin

काठमाडौं, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिएका हुन् ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति बैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराएका छन् ।

मंगलबारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड(नेपाल समूहले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।

प्रधानमन्त्री र आयोगलबी नेकपा विवादबारे कुनै छलफल नभएको पनि थापाले जानकारी दिए । उनले आयोगले माघ ११ गते गरेको निर्णय र माघ २० मा परेको निवेदनबारे सामान्य जानकारी मात्रै गराएको थापाले बताए । निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो ।

त्यसलगत्तै प्रचण्ड-नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

प्रतिक्रिया