‘भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके भ्रष्टाचार नियन्त्रण हुन्छ’

admin

काठमाडौं, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने सुझाव दिएका छन् । आयोगको ३०औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा देश र नागरिकलाई शिरमा राखेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्रासबाट मुक्त भएर अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न सुझाव दिए ।

उनले आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया नभएको बताए । प्रधानमन्त्री ओलीले राज्यका सबै निकायका प्रतिनिधि क्रियाशील भएमा देशको भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गरे । कानुनको नजरमा सबै बराबर भएकाले दोषीलाई कानुनअनुसार कडा कारबाही हुने उनले बताए ।

आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्ने गरी दायर गर्न नहुनेमा प्रधानमन्त्री ओलीले जोड दिए । निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उनले त्यसमा सचेत हुन आयोगलाई सुझाव दिए । उनले सञ्चारमाध्यमले पनि कसैलाई जबरजस्ती भ्रष्ट सावित गर्न नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहित सुशासनयुक्त समाज निर्माण आजको आवश्यकता रहेको बताए । ओलीले भ्रष्ट्रचार नियन्त्रणकालागि राज्यका सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिए ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सोही कार्यक्रमा बोल्दै भ्रष्टाचारविरुद्द शुन्य सहनशिलता देखाउन जननिर्वाचित सरकार र राज्यका सबै निकायहरु जिम्मेवार भएर लाग्न आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके भ्रष्टाचार नियन्त्रण हुने बताइन् ।

भ्रष्टाचार र अख्तियारको दुरुपयोग गरेकाहरुको विरुद्ध परेका निवेदनहरुलाई निष्पक्ष भएर अनुसन्धान गर्न राष्ट्रपतिले आयोगलाई निर्देशन पनि दिइन् । सार्वजनिक श्रोतको दुरुपयोग नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले व्यक्त गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया