मुखमा कालो टेप टाँसेर माइकअघि, संविधानको चीरहरण गर्नेहरूविरुद्ध बोल्न पाइन्छ : नेतृ झाँक्री

admin

काठमाडौं, २८ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छिन् । बुधबार नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताएकी हुन् ।

उक्त कार्यक्रमा पुग्नासाथ झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेपछि माइकमा पुगेकी उनले मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो । उनले टेप निकालेर भनिन्, ‘बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं ।’ झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो ।

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन् । ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन् । झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजका बादशाह भएको उल्लेख गर्दै उनी ढलिसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताइन् ।

यसैक्रमा अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उनको भनाइ छ । नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने नेतृ झाँक्रीले बताइन् । उनले आफूले राष्ट्रपति संस्था शिरमाथिको संस्था भएकाले राष्ट्रपति संस्थाविरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् ।

प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सही छाप गरी निरङ्कुशताको साक्षी बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाइने उनको भनाइ छ । नेतृ झाँक्रीले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।

उनले अहङ्कारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । उनले सर्वोच्च अदालतले कानुनसम्मत, संविधानसम्मत फैसला गर्नेमा विश्वास व्यक्त गरिन् । अदालतप्रतिको विश्वास डगमगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले अहिले राजधानीमा आमसभा गरिरहेको छ । सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ । वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन् ।

प्रतिक्रिया