नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ, ओलीले फाँ’सीवाद लागू गर्दैछन्, कहाँबाट कसरी केपी ओली पैदा भए ?

admin

काठमाडौं, २८ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले नागरिकको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि सङ्घीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको बताएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसँग प्रधानमन्त्री ओलीले संविधान र सङ्घीयता साट्ने काम गरेको बताएका हुन् ।

उनले भने, ‘संविधानलाई केपी ओलीजीले कुर्सीसँग साट्नुभयो । सङ्घीयतालाई उहाँले पदसँग साट्नुभयो ।’ नेता शर्माले संविधान र सङ्घीयता कुर्सी र पदसँग साटिन नसक्ने भन्दै खबरदारी गरे । शान्तिपूर्ण आन्दोलनमा आएका नागरिक कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने उनले चेतावनी दिए । नेता शर्माले राजनीतिक पार्टीका सीमित नेतामा असीमित अधिकार दिने काम भएको र त्यही असीमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गरे । उनले त्यसको समीक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आफूले जिम्मा लिन तयार रहेको बताए ।

उनले भने, ‘सीमिति राजनीतिक पार्टीका सीमित नेताहरूमा असीमित अधिकार हुनुको परिणाम हो आज यो । केपी ओलीमा असीमित अधिकार भएको कारणले यो भएको छ । केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउण्ड कहाँ तयार भो ? कसरी केपी ओली पैदा भए ? त्यसको समीक्षा गर्नुपर्छ, त्यसको जिम्मा लिनुपर्छ । त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु । कहाँबाट केपी ओली पैदा भए ? अन्यथा यो समीक्षा गरेनौँ र यो कुरा स्वीकार गरेनौँ भने फेरि महेन्द्रहरू जन्मनेछन् । फेरि केपी ओलीहरू जन्मनेछन् । त्यसलाई जन्मन नदिनका लागि हामीले समीक्षा गर्नुपर्छ ।’

नेता शर्माले पार्टीको रूपान्तरण आवश्यक रहेको बताए । उनले भने, ‘यसैगरी नागरिकले घेराबन्दी गर्ने पार्टी नेतृत्व दलालहरूले घेराबन्दी गर्ने होइन । आज दलालहरूले घेराबन्दी गर्ने अवस्था छ । त्यसको अन्त्य गरेर नागरिकको बीचमा नेतृत्व हुर्कनुपर्छ ।’

संविधानअनुसारको जनअधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागू गर्न नदिन अपाङ्ग बनाइएको, ओम्नीको नाममा नागरिकको अधिकारमाथि खेलबाड गरिएको, समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै उनले नयाँ कुलमान निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

राज्यका सबै संरचनाहरू लोकतान्त्रिकीकरण हुन नसक्नुको परिणाम अहिले भोग्नुपरेको भन्दै उनले सबै परिर्वतनकामी जगतलाई लोकतन्त्रको रक्षाको आन्दोलनमा सहकार्य गर्न आह्वान पनि गरे । नेकपाको प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरी प्रधानमन्त्री केपी ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको बताए । उनले निरङ्कुश र तानाशाहलाई प्रधानमन्त्री ओलीले फर्काउन खोजेको भन्दै खबरदारी गरे ।

उनले भने, ‘खबरदार केपीजी सङ्घीयतालाई मास्न पाइँदैन । लाखौँ लाख नागरिक सडकमा उत्रिसके । अब तपाईँको पालो छ । तपाईँलाई समाप्त पार्ने आन्दोलनमा नागरिक होमिइसकेका छन् ।’ उनले प्रतिगमन नसच्चिएसम्म प्रतिगमनविरुद्धको आन्दोलन नरोकिने बताए ।

त्यस्तै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर देशलाई दुर्घटनाको दिशामा लगेको बताए । उनले हिटलरको प्रसङ्ग उल्लेख गर्दै दुनियाँका तानाशाहहरूले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाह भएको दाबी गरे ।

उनले भने, ‘दुनियाँका तानाशाहहरू झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुर्‍याउने सामर्थ्य राख्छन्, तीमध्ये केपी ओली पनि एक हुन् । उनले झुटलाई डेन्टिङपेन्टिङ गरेर सत्य हो कि भन्ने ढङ्गले बोल्छन् ।’ उनले प्रधानमन्त्री केपी ओलीमा पनि तानाशाह हिटलर जस्तै जिन्दगीभर झुट बोल्ने बानी परेको बताए ।

यसैगरी उक्त कार्यक्रमा बोल्दै, प्रचण्ड-नेपाल समूहका प्रवक्ता एवम् जनसंघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले केपी ओली फाँ’सिस्ट भएको आरोप लगाएका छन् । तर, संविधानलाई उपहास गर्दै ओली फाँ’सीवादतिर लागेको उनले बताए । तर, नेपाली जनताले फाँ’सीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे ।

‘यो फाँ’सीवाद लागू गर्ने नयाँ तरिका हो’, उनले भने । चरणबद्ध भइरहेको जनप्रदर्शनको उद्देश्य प्रतिगामी कदम सच्याउँदै संसद् पुनर्स्थापना गर्नु र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्ति सच्याउनु रहेको प्रवक्ता श्रेष्ठले भने । वर्तमान सरकारले असंवैधानिक ढंगले संसद् भंग गरिएकाले ओली सांसद छैनन् । यो स्वतः काम चलाउ सरकार हो’ उनले भने ।

अवैधानिक सरकार भएकाले ओलीलाई सरकारमा एक मिनेट पनि बस्ने अधिकार नभएको श्रेष्ठले बताए । ओलीले चुनाव गराउनका लागि नभई संविधान र लोकतन्त्र ध्वस्त पार्न चुनाव घोषणा गरेको उनले बताए । ओली समूहबाहेक सबै शक्ति प्रतिगामी कदम विरुद्ध लडिरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया