काठमाडौं, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसअघि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर, झाँक्रीले महाशाखा जान अस्वीकार गरेकी थिइन् । झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी उनको निवास शङ्खमूल पुगेका छन् । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए । यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।
पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ । ‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’ उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।
हेक्का रहोस् भारी नहोस् : झाँक्री पक्राउको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन, ‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही नसमातिएको, ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको नसुनिएको तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !’
केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो । बुधबार काठमाडौंमा भएको प्रचण्ड-नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।