प्रतिनिधि सभा विघटन : सरकारी वकिलको बहस सकियो, सभामुख सापकोटाका तर्फबाट बहस हुँदै

admin

काठमाडौं, २९ माघ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । बिहीबारको बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिएका थिए ।

बहसका क्रममा प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरेका छन् । उनले प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिट नै खारेजीको माग गरेका छन् ।

यस्तै अर्का वकिल धर्मराज रेग्मीले प्रधानमन्त्रीले संसद्बाट सहयोग नपाएको कारण विघटन गरेको तर्क गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले चुनावबाट दुई तिहाइ जनमत आएन भने फेरि संसद् विघटन गरिदिने ? भन्दै प्रश्न गरेका छन् ।

सरकारी वकिलका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट वकिलले बहस गरिरहेका छन् । उनीहरूले संसद्ले प्रधानमन्त्रीलाई भरपूर सहयोग गरेको बताएका छन् । सभामुखको तर्फबाट बहस सकिएपछि एमिकस क्युरीको बहस सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ ।

प्रतिक्रिया