साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो : नेतृ झाँक्री

admin

काठमाडौं, २९ माघ : राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छिन् । पक्राउ परेपछि अपराध अनुसन्धान विभाग मीनभवन पुगेकी नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएकी हुन् ।

उनले धैर्य गर्न पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘​राज्यविरुद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’

झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाएकी थिइन् । झाँक्रीको अभिव्यक्तिपछि उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।

प्रतिक्रिया