डा. भट्टराई : सरकारको काल आएकै हो, संविधानको पालना राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?

admin

काठमाडौं, २९ माघ : नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गरेका हुन् ।

संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेतृ झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

प्रतिक्रिया