सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर

admin

काठमाडौं : सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन्। न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो। गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मिएका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए।

यस्तै सर्वोच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ। गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ। पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन्। यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन्।

विसं २०२४ वैशाखमा विराटनगरमा जन्मनुभएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो।

प्रतिक्रिया