फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी

admin

काठमाडौं, फागुन ४ : सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए । उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा छ ।’

सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिलाई राखेको छ । यस्तै, तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन् ।

आइतबारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप उपलब्ध गराउनुपर्ने बताए ।

अहिले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया