अमेरिकामा हिमआँधी : २३ जनाको ज्यान गएसँगै टेक्सासमा आपतकाल घोषणा

admin

एजेन्सी, ५ फगुन : अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । विद्युत सेवा बन्द भएको छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ । हिमआँधीका कारण कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ ।

यसको असर आइतबारसम्म रहने त्यहाँका मौसमविदहरुले बताइएका छन् । चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ ।

हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया