राष्ट्रसंघद्वारा म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न आग्रह

admin

एजेन्सी, ५ फगुन : संयुक्त राष्ट्रसंघले म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न सैन्य नेतृत्वसँग आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न आग्रह गर्दै राष्ट्रसंघले प्रदर्शनमा थप ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

म्यानमारको सेनाका डेपुटी प्रमुख सोय विनसँगको फोनवार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर वग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका हुन् ।

सेनाले सत्ता कब्जामा लिएपछि बन्द भएको इन्टरनेट सेवा भने सुरु भएको खबरमा उल्लेख छ । गएको फेब्रुअरी एकमा सेनाले सत्ता कब्जा गरेको हो । सैन्य ‘कू’को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सेनाले मुख्य शहरमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरेको छ ।

मंगलबार मात्रै म्यानमारकी विपक्षी नेतृ आङ सान सुकी माथि अर्को आरोप समेत लगाइएको छ । तर आरोपबारे खुलाइएको छैन । त्यहाँको सेनाले नयाँ चुनाव गराउने र सत्ता त्याग्ने भन्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएको छ ।

प्रतिक्रिया