प्रधानमन्त्री जवाफ दिन अदालत आउनुले देशमा कानुनी शासन छ भन्ने देखायो : अधिवक्ता न्यौपाने

admin

काठमाडौं, ६ फागुन : अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले अवहेलना मुद्दाको जवाफ दिन अदालत आउनुले हाम्रो देशमा कानुनी शासन छ र प्रधानमन्त्रीले कानुनलाई सम्मान गरेको बताएका छन् । अधिवक्ता न्यौपानेले प्रधानमन्त्री ओली अदालतमा लिखित जवाफसहित स्वयं उपस्थित हुनुले अदालतको सम्मान हुनुका साथै प्रधानमन्त्री पदको पनि सम्मान भएको बताए ।

प्रधानमन्त्री ओलीले कानुनी शासन र संविधानप्रति दृढ छु भन्ने सन्देश दिएको पनि अधिवक्ता न्यौपानेले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भइ अवहेलना मुद्दाको लिखित जवाफ पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई उनले तमासाको संज्ञा दिएका थिए । रिट निवेदकको पक्षमा बहस गरेका ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन्, तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया