नेप्से २५ अङ्कले बढेर २६ सय ३६ विन्दुमा

admin

काठमाडौं, ६ फागुन : शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से बिहीबार २५ दशमलव २३ अङ्कले बढेर २६ सय ३६ दशमलव ६८ विन्दुमा पुगेको छ ।

बिहीबार बैंकिङ समूहको शेयर २३ अङ्कले, व्यापार समूहको ७३ अङ्कले, होटलको साढे चार अङ्कले, विकास बैंकको ६२ अङ्कले, जलविद्युतको १८ अङ्कले, फाइनान्स समूहको पाँच अङ्कले, उत्पादन समूहको २० अङ्कले र अन्य समूहको झण्डै ५४ अङ्कले बढेको छ ।

जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । बिहीबार दुई सय ६ कम्पनीका एक करोड ९६ लाख ४६ हजार कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआईसी एसियाको ५६ करोड र निफ्रा बैंकको ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार नेपाल हाइड्रो डेभलपर्स कम्पनीका शेयरधनीले १० प्रतिशत र अन्य सात वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि मिर्मिरे लघुवित्तका लगानीकर्ताले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया