नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा

admin

काठमाडौं, ७ फागुन : नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ । बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो । परिसूचकले २६ सय ३६ अंकको नयाँ कीर्तिमानी स्तर बनाएको छ ।

यस दिन ‘अन्तरदिवसीय’ व्यापारमा नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो । सोही क्रममा बजार पुँजीकरणको आकारमा पनि कीर्तिमानी स्तर तयार भएको हो । बिहीबारकै अनुपातमा बजारको विस्तार जारी रहने हो भने चार दिनपछि नेप्सेको पुँजीकरण अर्थतन्त्रको आकारभन्दा ठूलो हुनेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान ‘मौद्रिक खुकुलोपना’लाई कम्तीमा ३ महिना लम्ब्याउने प्रतिबद्धता जनाएपछि सेयर बजार उकालो लागिरहेको छ । बिहीबार नेप्सेको बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यो जीडीपीको साढे ९६ दशमलव ४५ प्रतिशत र कुल राष्ट्रिय आय (जीएनआई)को ९५ दशमलव २८ प्रतिशत हो । गत वर्ष नेपालको जीडीपी ३७ खर्ब ६७ अर्ब र जीएनआई ३८ खर्ब १३ अर्ब रुयैयाँ थियो । यसअघि १२ साउन २०७३ मा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमान बनाउँदा सेयर बजारको पुँजीकरण अर्थतन्त्रको ९१ दशमलव ९२ प्रतिशतसम्म पुगेको थियो ।

त्यसपछि अर्थतन्त्रसँगको अनुपात लगातार घट्दो क्रममा रहे पनि बजार सूचकांक बढ्न थालेसँगै यस्तो अनुपात पनि उकालो लागेको हो । २०६० को साउनमा नेप्सेको बजार पुँजीकरण अर्थतन्त्रको ७ दशमलव १ प्रतिशतसम्म झरेको थियो । सेयर बजारको पुँजीकरणलाई अर्थतन्त्रका दुबै सूचक अर्थात् जीडीपी र जीएनआईसँग तुलना गर्ने चलन छ । पछिल्लो समय यस अनुपातलाई जीएनआईसँग तुलना गर्न बढी उपयुक्त हुने विश्लेषण गरिन थालेको छ ।

प्रतिक्रिया