अब सक्रिय संक्रमित १४ सय ९४ जना मात्रै

admin

काठमाडौं, ९ फागुन : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय भन्दा तल झरेको छ । बितेको २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै बितेको २४ घण्टामा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ८० जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् । उपत्यकामा काठमाडौंमा ३६, भक्तपुरमा दुई र ललितपुरमा ११ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आइतबार संक्रमण पुष्टि भएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ६१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया