फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी

admin

काठमाडौं, फागुन ९ : सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपालले खरिद गरेको हो जसका लागि सरकारले ९३ करोड रकम सेरम इन्स्टिच्युटलाई बुझाएको छ ।

बाँकी १० लाख डोज खोप भने केही दिनमा आइपुग्ने जनाइएको छ । भारत सरकारले अनुदानमा खोप दिएको १ महिनापछि नेपालले खोप खरिद गरेको हो । माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो । त्यसपश्चात सरकारले माघ १४ गतेदेखि खोप अभियान सुरु गर्यो । हालसम्म ३ लाख ८३ हजार ३ सय ९६ जनाले खोप लगाइसकेका छन् ।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरत ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने जनाएको थियो । तर स्वास्थ्य मन्त्रालयले तयार पारेको सूचीअनुसार धेरै व्यक्ति खोप नै लगाउन आएनन् । त्यसपछि सरकारले पहिलो चरणको खोप अभियानलाई फराकिलो बनाउदै पत्रकार, कूटनीतिक नियोगमा कार्यरत व्यक्तिदेखि सरकारी कर्मचारी र बैंकरलाई खोप कार्यक्रममा समेट्यो ।

तर पनि मुस्किलले ४ लाख खोप पनि खपत भएन । हाल अनुदानमा आएको ४७ हजार डोज खोप नै बाँकी छ । मन्त्रालयले पहिलो डोज लगाएको ८ सातापछि मात्र दोस्रो डोज खोप लगाउने जनाएको छ । सरकारले आइतवार खरिद गरेर ल्याएको खोप फागुन २३ गतेदेखि ६० बर्ष उमेर माथिका व्यक्तिलाई लगाउने तयारी गरेको छ ।

अब भने खोप केन्द्रमा नै गएर खोप लगाउने गरी तयारी भएको मन्त्रालयले जनाएको छ । हाल नेपालको जनसंख्याको १ प्रतिशत बढी व्यक्तिले खोप लगाइसकेका छन् । सरकारले खरिद गरेको खोपले झन्डै १० लाख जनसंख्यालाई पुग्ने छ । तर खोपप्रतिको मानिसको संशयका कारण उपलब्ध सबै खोप खपत हुनेमा भने शंका उब्जिएको छ ।

प्रतिक्रिया