प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्नु अदालतलाई दबाब र प्रभावमा पार्न खोज्नु हो : महासचिव पौडेल

admin

काठमाडौं, ९ फागुन : नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिले अदालतसामू ठूलो चूनौति रहेको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो विषयलाई लिएर सर्वोच्च अदालतमाथि एक किसिमको हमला गरिएको अवस्था छ । यो भन्दा पहिला, विभिन्न कोणबाट अदालतमाथि बोलियो । अदालतलाई थ्रेट गर्ने काम भयो । मैले गरेको विघटन सही छ भनिएको पनि सुनियो ।

दुवै तर्फबाट आएका अभिव्यक्ति न्यायपालिकामाथि उचित ढंगका अभिव्यक्ति होईन । न्यायालयले स्वतन्त्र निर्णय गर्छ भन्ने विश्वास छ । संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला आउँदैन् भन्ने कुरामा पनि म विश्वास गर्छु । अहिलेको जुन वातावरण छ, संवैधानिक व्यवस्था छ, यो हेर्दाखेरि म संसद पूनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सर्वोच्च अदालतबाट आउने र हुने फैसलालाई आफूले शिरोपर गर्ने कुरामा आफू विश्वस्त रहेको पनि जनाए । उनले एमिकस क्युरीले व्यक्त गरेको राय हुबहु लागु नहुने पनि सुनाए । उनले प्रधानमन्त्री ओलीले हिजो गरेको भाषण आफ्नो पक्षको पक्षपोषणमात्रै भएको पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले व्यक्त गरेका कुरा आफ्नो पक्षको कुरा रहेको पनि उनले सुनाए ।


नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने अधिकार संविधानमा नराखिएको दृष्टान्त सुनाए । २०७२ को संविधान धारा ७६ राख्नुको कारण फूट टर्ममा सरकारले काम गर्न पाओस भनेर राखिएको उनले सुनाए । उनले अहिलेको संसद् विघटन संविधानसम्मत् नभएको भन्दै संसद पूनःस्थापना हुनुपर्ने पनि धारणा राखे । उनले कसैले पनि न्यायालयलाई दबाबमा पार्न नहुने धारणा राखे ।

आफूहरुको पक्षमा फैसला नभए आन्दोलन जाने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरामा आफ्नो पूर्ण असहमति रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘यो उहाँको पदीय जिम्मेवारी अनुसारको अभिव्यक्ति होईन् ।’ प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भन्नु अदालतलाई दबाब र प्रभावमा पार्न खोज्नु रहेको उनको टिप्पणी छ ।

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्रीको तर्फबाट सर्बोच्चलाई धम्काउन नमिल्ने टिप्पणी गरेका छन् । उनले भने,‘जो मान्छे सत्तामा बसेको छ, त्यो मान्छेले सडक कब्जा गर्न मिल्छ ? प्रधानमन्त्री श्री ३ भैसक्नु भएजस्तो लाग्छ । उहाँ राणा शासनजस्तो गर्दै हुनुहुन्छ । सर्बोच्चले निश्पक्ष फैसला दिनेछ भन्ने आशामा छौ।’

उनले प्रधानमन्त्री सर्बेसर्बा नभएको भन्दै नेकपाको दुवैतिर अतिवाद रहेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीले कसका लागि आन्दोलन गर्ने ? हामीले तिरेको करले प्रधानमन्त्रीले ठाउँ÷ठाउँमा कार्यक्रम गर्न मिल्छ ?’ उनले प्रधानमन्त्री ओलीको अब ज्ञानेद्र जस्तो हालत हुने पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा पनि राखे । उनले भने,‘प्रधानमन्त्रीज्यु तपाईले त्यस्तो बोल्न पाउनुहुन्न र देशको ढुकुटी सक्काएर कार्यक्रम गर्न पाउनुहुन्न।’

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा व्यवस्था नै असफल भएको टिप्पणी गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रचण्ड र माधव नेपालले विदेशी शक्ति गुहारेको उनको आरोप छ । त्यस्तै, हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भनेर सुनाउँदै यी सबै अभिव्यक्ति व्यवस्थाको असफलता भएको न्यौपानेको टिप्पणी छ ।

उनले नेपालको संविधान संसारको सबैभन्दा महँगो भएको उल्लेख गरे । न्यौपानेले कम्युनिष्ट कहिल्यैपनि प्रजातान्त्रिक नहुने जिकिर गरे । उनले अहिलेका सर्वोच्च अदालतका न्यायाधीहरुलाई नेकपा दुवै पक्षले अन्तर्वार्ता लिएको सुनाए ।

अब नेपाली जनताले विकल्प खोज्नुपर्ने पनि उनको माग छ । अहिलेसम्मको घट्नाक्रम हेर्दा यो व्यवस्थाले काम नगर्ने पनि उनको ठोकुवा छ । उनले निर्वाचन भयो भने यो व्यवस्थाको आयु अलिकति लम्बिने पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले गलत रुपमा संसद विघटन गरेको भए जनताले सजाय दिनेपनि सुनाए ।

प्रतिक्रिया