लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

admin

काठमाडौं, ११ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गरे ।

न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ ?’, उनले भने ‘न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ? ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भने ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले बताए । उनले भने, ‘राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।’ उनले प्रश्न गरे, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिस नगर्न सबैलाई अनुरोध गरे । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।’ उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया