प्रचण्ड–माधव समूहले विजय र्‍याली निकाल्दै, संसदीय दलकाे बैठक पनि आजै

admin

काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव समूहको नेकपाले आज देशव्यापी विजय जुलुस निकाल्दैछ। केन्द्रीय संघर्ष समितिको आयोजनामा दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय र्‍याली निकाल्न लागिएको समितिकी सहसंयोजक पम्फा भुषालले जानकारी दिइन्। उनका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालपनि कार्यक्रममा सहभागी हुने संभावना छ।

उनीहरु दुवै जना चितवनमा रहेको र काठमाडौं फर्कन लागेको भुषालले बताइन्। प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी सभा र प्रदर्शनमा रहेको प्रचण्ड–माधव समूहको नेकपाले आज चितवनमा आमसभा आयोजना गरेको थियो। हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि सभा स्थगित गरेर अध्यक्षद्वय काठमाडौं आउन लागेका हुन्। उनले देशभर जिल्ला सदरमुकाममा पनि अनुकुल समयमा विजय जुलुस निकालिने बताए।

यसैबीच, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने नेतृ पम्फा भुषालले जानकारी दिइन। बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन्। यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ।

अविश्वासको प्रस्ताव दर्ता भएपनि काँग्रेसले सहयोग नगरेसम्म पास हुने अवस्था छैन। अहिलेको अविश्वास प्रस्तावमा अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। यसो हुँदा कांग्रेसले साथ दिन नसक्ने भएकाले यसलाई फिर्ता लिएर काँग्रेससँगको सहमतिमा अर्को अविश्वास प्रस्ताव लैजाने विकल्पमा पनि नेकपाले छलफल गर्न सक्ने बुझिएको छ। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ।

प्रतिक्रिया