सरकारद्वारा विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा समिति गठन

admin

काठमाडौं, १८ फागुन : नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । सरकारले गठन गरेको वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेका छन् । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार पत्रकार सम्मेलन मार्फत सरकारका तर्फबाट वार्ता टोली गठन गरेपछि विप्लव पक्षबाट पनि छिटो भन्दा छिटो वार्ता टोली गठन हुने अपेक्षा व्यक्त गरेका छन् ।

उनले नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्न लागेको र प्रधानमन्त्री केपी ओलीले पनि विभिन्न यसबारे सार्वजनिक मञ्चबाट उद्घोष गरेअनुसार विप्लव पक्षसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन लागेको बताए ।

सो दलमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने कुरा वार्ताबाटै टुङ्गिने मन्त्री गुरुङको भनाई छ । उनले भने, ‘उहाँहरुलाई लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरु, उहाँहरुसँग सम्बन्धित कुराहरुबारे छलफलका लागि नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा गरियो भने वार्ताको औचित्य नै समाप्त हुन्छ । त्यसैले वार्ताबाट नै समस्या समाधान गर्ने भनेर हामीले प्रेस विज्ञप्तिमा नै उल्लेख गरेका छौँ । वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको हो ।’

विप्लव पक्षबाट सो दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने चर्चा चलेपनि हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । सरकारले विप्लव समूह आपराधिक संगठन भएको घोषणा गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । त्यसयता सरकारले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्ने तथा मुद्दा चलाउने गर्दै आएको थियो ।

पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो । आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता हुन लागेको भन्दै यो खुसीको खबर भएको बताएका थिए ।

उनको भनाइ थियो, ‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।’ ओलीले विप्लवलाई सरकारले शान्ति प्रक्रियामा ल्याएको सारा नेपालीले टेलिभिजनबाट देख्ने समेत बताएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ उसो त फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । सो अघि केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गर्दै विज्ञप्ति जारी गर्ने गरेका विप्लवले ‘सफ्ट भाषामा’ वार्ताका लागि तयार रहेको बताएका हुन् ।

आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो,’ उनले विज्ञप्तिमा भनेका थिए, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

प्रतिक्रिया