झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौती पनि दिनुभयो
। आफूले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड–माधव समूहलाई व्यङ्ग्य पनि गर्नुभयो । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न नागरिकमाझ जाने र नागरिकले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म मुद्दा लड्न गएको पनि छैन । म मुद्दा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर । म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईँहरू कहाँ आउँछु । नागरिकका बीच जान्छु । दाजुभाइ, दिदीबहिनीका बीचमा जान्छु कि ममाथि अन्याय भयो तपाईँहरूले न्याय दिनुहोस् भनेर । तपाईँहरूले न्याय दिनुहुन्छ ।
अस्तिका दिन बोल्दाखेरि मैले भनेँ– अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । सजिलो छैन । हटाउन सक्छ भने हटाओस्, खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिले नै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढ वर्ष/दुई वर्षपछि त चुनाव आइ सक्छ ।
दुई तिहाइका साथ फेरि सिंहदरबारमा फर्कन्छु ।’ उहाँले प्रतिनिधि सभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गतेपछि प्रतिनिधि सभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।