अदालतको फैसलाले प्रचण्ड–माधव पक्षलाई संकटमा पार्यो : महेश बस्नेत

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा परेको जिकिर गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने प्रचण्ड–माधव पक्षलाई नै संकट परेको बताए। उनले प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उल्टै प्रचण्ड कमरेड र माधव कमरेडहरूको टिमलाई नै परेको छ’ बस्नेतले भने,‘उहाँहरूसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति छ।’ पुस ५ गते हठात प्रस्तुत गरेको अविश्वासको प्रस्तावमा प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारिएको भए पनि हिजोको बैठकबाट उनी ब्याक भएको उनले बताए।

आगामी दिनमा परिस्थिती प्रचण्ड–माधवका निमित्त झन असहजातर्फ गइरहेको उनले बताए। नेपाली कांग्रेस आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बस्नेतको भनाई छ। फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान, अनुमानमै सिमित हुने उनले ठोकुवा गरे।

‘कम्युनिस्ट पार्टी फुटेको कुरा हामीले नस्वीकारेको अवस्थामा र वर्तमान सरकारविरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्ताव नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्री माथि उठ्ने स्थिति पनि छैन’ बस्नेतले भने,‘ २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान, अनुमानमै सिमित हुने होकि भनेजस्तो लक्षण देखिदैछ।’

प्रचण्ड–माधव पक्षले औपचारिक रुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरू ओली पक्षमा आउने उनले दाबी गरे। प्रचण्ड–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाइ थियो।

प्रतिक्रिया