ताप्लेजुङ : मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर न’ष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका घर धनि र भाडामा बस्ने समेत गरेर ५५ परिवार विस्थापित बनेको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।
प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको गाउँपालिकाका प्रवक्ता सुर्यमान बराइलीले जानकारी दिनुभयो ।
बराइलीका अनुसार गाउँपालिकाले तत्कालका लागि विस्थापित बनेका परिवारलाई १५ हजारका दरले नगद वितरण गरिएको र आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको पनि गाउँपालिकाले जनाएको छ ।
केहिलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी गाउँपालिका स्थित पाथीभरा मेमोरियल स्कुलमा बस्ने व्यवस्था गरिएको छ । गाउँपालिकाको आकस्मिक बैठकले पीडित परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय समेत गरेको छ । आगो नियन्त्रणमा लिन बजार क्षेत्रका केहि घरहरू भत्काइएको थियो । लामो प्रयास पछि आगो नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रण गर्न तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी खटिएका थिए । फुङलिङ नगरपालिकाको दमकल र एक्साभेटरको प्रयोग समेत गरिएको छ ।
टिनको छानोसहितका कच्ची घरहरु भएकाले आगो छिटो फैलिएको हो । दोभान बजार जिल्लाको दोश्रो ठूलो व्यापारिक केन्द्र हो । जलेर नष्ट भएका घरहरूमा अलैँचीको गोदाम तथा ठूल्ठूला पसलहरू रहेकाले क्षतिको मात्रा ठूलो हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन ।