संसद्को पहिलो बैठक नै धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री

admin

काठमाडौं, २४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा (हिजो) आइतबार अमर्यादित गतिविधि भएको दाबी गरे ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतबार प्रचण्ड-नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाए । उनले अध्यादेश फेल गराउन पनि चुनौती दिएका छन् ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतबार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताएका छन् । आइतबार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो ? भनेर प्रश्न गरेका थिए ।

रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतबार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गरे । उनले प्रचण्ड-नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोधेका छन् । सर्वोच्चले आइतबार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र बिउँताइदिएको छ ।

प्रतिक्रिया