माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, अवस्था हेरेर एमालेसँग पनि वार्ता गर्न सक्ने

admin

काठमाडौं, २५ फागुन : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो ।

त्यसपछि आवश्यकताका आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकले सङ्गठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

नेता श्रेष्ठले भने, ‘नेकपा एमालेसँग पनि वार्ता हुनेछ । तर मुख्य जोड कांग्रेस र जनता समाजवादी पार्टीसँग हुनेछ । हामीले राजनीतिक पार्टीको हैसियतले दलहरूसँग वार्ता गर्ने कुरालाई खुला राख्छौँ । सङ्गठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यही फागुन २९ गते काठमाण्डौमा केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ ।’

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएका केन्द्रीय सदस्यहरूको बैठक बस्ने पनि नेता श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबै पार्टीसँग छलफल गरेपछि राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरेर मात्रै सरकारलाई दिएको समर्थनका बारेमा पार्टीले निर्णय गर्नेछ । बैठकले सरकार गठन र सरकारमा रहेका सांसदहरूको सवालमा भने ठोस निर्णय गरेको छैन । सरकारमा रहेका सांसदहरूले पहिला आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा स्पष्ट पारेपछि मात्रै बैठकले निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘उहाँहरूले पछिल्लो परिस्थितिअनुसार आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा धारणा प्रस्तुत गर्नुहुने अपेक्षा गरेका छौँ । त्यसपछि पार्टीले के गर्नुपर्छ, त्यसअनुसार नै गर्छ ।’ सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक घाटा लाग्या हो भन्ने प्रश्नमा उनले एकीकृत पार्टीका तर्फबाट गर्न सक्ने काम गर्न नसकेर क्षति पुगेको भए पनि सङ्गठनमा त्यसले असर नपर्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले नाफा र घाटाको हिसाब गरेका छैनौँ । हामीले निश्चित रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गर्दा ठूलो अपेक्षा र ठूलो उद्देश्यसहित एकता गरेका थियौँ । हामीले एकता जोगाउन भरमजदुर प्रयत्न गर्‍यौँ र नेपाली कम्युनिस्ट आन्दोलनलाई नेपालमा आफ्नै नेतृत्वमा सरकार बनाएर सामाजिक आर्थिक रूपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र समाजवादको बाटोमा आजको आवश्यकताअनुसार नयाँ ढङ्गले अगाडि बढ्ने अवसर हामीलाई प्राप्त थियो । त्यो अवसरलाई, त्यो सम्भावनालाई हामीले हरहालतमा व्यवहारमा अनुवाद गर्नुपर्थ्यो । त्यसमा समस्या देखा परे । निश्चित रूपमा कमजोर पार्ने काम भएको छ । त्यसअर्थमा यो क्षति हो तर हामीले साङ्गठनिक रूपमा नाफा-घाटालाई हिसाब गरेका छैनौँ ।’

प्रतिक्रिया