संखुवासभा एमालेमा विवाद : नेपाल पक्षले राखेको बोर्ड ओली समूहले हटायो

admin

संखुवासभा : नेकपा एमाले संखुवासभा पार्टी कार्यालयमा बोर्ड राख्ने क्रममा विवाद भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयमा बोर्ड राख्ने र हटाउन क्रममा विवाद भएको हो। वरिष्ठ नेता नेपाल पक्षले मंगलबार नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड पार्टी कार्यालयमा राखेको थियो।

सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई यथावतको फैसला सुनाएपछि संखुवासभाको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड पार्टी कार्यालयमा राखेको थियो।

तर बुधबार ओली समुहले नेपाल पक्षले राखेको एमालेको बोर्ड हटाएर नयाँ बोर्ड पार्टी कार्यालयमा राखेपछि एमालेमा विवाद सुरु भएको हो। ओली समूहले नेपाल पक्षले लगाएको ताला फोडेर अर्को लगाएको नेपाल पक्षका एक नेताले जानकारी दिए। ओली समूहले पार्टी कार्यालयमा ओलीको तस्बिरसमेत राखेपछि नेपाल पक्षले विरोध जनाएका छन्।

संखुवासभा एमालेमा ओली पक्ष कमजोर मानिन्छ। यस अगाडि भएको नेकपामा जिल्ला पार्टी कार्यालय पूर्वएमाले नेता नेपाल–दाहाल पक्षको कब्जामा थियो। ओली पक्षले छुट्टै पार्टी कार्यालय खोलेको थियो।

यस अगाडि भएको नेकपामा अधिकांश पूर्वएमाले नेता कार्यकर्ता दाहाल–नेपाल पक्षमा खुलेका थिए। अधिकांश जिल्ला नेता र कार्यकर्ता नेकपाको दाहाल नेपाल पक्षमा लागेपछि ओली पक्षले जितबहादुर घिमिरेको अध्यक्षतामा अर्को जिल्ला कमिटी चयन गरेको थियो।

ओली समूहले नेपाल पक्षले राखेको बोर्ड हटाएर अर्को राखेपछि झडप हुन सक्ने भन्दै पार्टी कार्यालय रहेको खाँदबारीको पोखरी बजारमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया