सडक निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं, जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको छ : प्रधानमन्त्री

admin

काठमाडौं, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताएका हुन् ।

सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ । सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको बताए । हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उनको भनाइ छ ।

यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उनले बताए । पक्की बाटोको अर्थ बुझाउँदै प्रधानमन्त्री ओलीले भने ‘सडकबाट गाडी नझर्ने खालको, प्राविधिक रुपमा राम्रो, पिलरहरु राखिएका बाटो निर्माण भएको छ ।’

नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले हरेक काममा नागरिकको जीवनलाई केन्द्र भागमा राखेर काम गरेको बताए । अहिले पक्की बाटो सुधारका लागि पनि विभिन्न मागहरु आएको उनले बताए । प्रधानमन्त्री ओलीकाअनुसार अहिलेसम्म ३ सय ९२ ठाउँबाट निवेदन प्राप्त भएका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा पछिल्लो समय जे कुरामा पनि विरोध गर्ने प्रवृत्ति बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने ‘जे कुरामा पनि विरोध हुन थाल्यो, यस्ता प्रवृत्तिको बिगबिगी बढ्यो ।’ तर सरकारले यस्ता प्रवृत्तिको पनि सामना गरेर अगाडि बढिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको पनि बताए । ओलीले केहीले विरोधकै लागि भए पनि विरोध गर्ने गरेको आरोप समेत लगाए ।

‘विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’ उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए ।

‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’ सडक कालोपत्रे मात्र गर्ने होइन, त्यो फराकिलो र सुरक्षित पनि हुनुपर्ने उनले बताए । नेपालको सन्दर्भमा मानिसलाई विश्वास गर्न गाह्रो हुने गतिमा सरकारले विकास निर्माणको कार्यलाई अघि बढाएको उनको भनाइ थियो ।

प्रतिक्रिया