प्रधानमन्त्री ओली र माधव नेपालसहित ११ नेताहरूको भेटवार्ता जारी धुम्बाराहीमा

admin

काठमाडौं, २ चैत : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ – माधव नेपाल समूहका नेताबीच भेटवार्ता सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराही छलफल सुरु भएको हो । करिब तीन महिनापछि सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भएको हो । 

पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दा एमालेका दुवै पक्ष वार्तामा बसेका हुन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई वार्ताको लागि बोलाएका हुन् । छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी छन् ।

यस्तै नेपाल समूहका तर्फबाट नेपालसहित झलनाथ खनाल सहभागी भएका छन् । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि दुई पक्षबीच पहिलोपटक छलफल हुन लागेको हो । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल ओलीको कदम प्रतिगमन भन्दै आन्दोलित थिए ।

अदालतले संसद पूनःस्थापना गरेपछि पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थिएन । पछिल्लो समय सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि ओली र नेपालबीच झनै तित्तता बढेको थियो ।

तर, पछिल्लो समय फागुन २८ गते प्रधानमन्त्री ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर एकलौटी निर्णय गरेपछि नेपाल पक्षले उक्त निर्णय अवैधानिक भन्दै नमान्ने चेतावनी दिएको थियो । र, पार्टीमा समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो ।

पछिल्लो परिदृश्यले नेकपा एमाले नै फुट्ने हो कि भनेर नेता तथा कायृकर्ताको तहबाट आम चासो र चिन्ता व्यक्त भैरहेको थियो । यही बीचमा प्रधानमन्त्री ओलीले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक डाकेका थिए । उक्त बैठक बालुवाटारमा बस्ने हो भने आफूहरु कुनैपनि हालतमा उपस्थित् नहुने चेतावनी नेपाल पक्षले दिएको थियो ।

र, यही चैत्र ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने घोषणा गरिसकेको थियो । आम नेता तथा कार्यकर्ताको पँक्तिबाट पार्टी एकता जोगाउनुपर्ने र यसको लागि सबैभन्दा बढि लचकता र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै गर्नुपर्ने दबाब दिएका थिए ।

सोमबारको बैठकको लागि प्रधानमन्त्री ओलीले नै अग्रसरता लिएको बुझिएको छ । भेटवार्ताबारे माधव नेपाल पक्षधर नेता विष्णु रिजालले सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो नभएको बताएका छन् ।

उनले भनेका छन्, ”सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ ।”

प्रतिक्रिया