नेदरल्याण्ड्समा अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

admin

एजेन्सी, २ चैत : नेदरल्याण्ड्सले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध लगाएको छ । आउँदो २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।

नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।

डेनमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरेर सम्भावित गम्भीर ‘साइड-इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको नेदरल्याण्ड्स सरकारले जनाएको छ । खोपका सम्बन्धमा रहेको शङ्का हटेपछि मात्रै अघि बढ्ने त्यहाँका स्वास्थ्यमन्त्री हुगो डी जोङ्गेले बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया