साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने माओवादी केन्द्र

admin

काठमाडौं, २ चैत : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको हो ।

नयाँ सरकार बनाउने विषयमा अन्य दलसँग छलफल र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनको विषयलाई उठाउनुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने र त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताए । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूको जवाफ नआइसकेकाले यसबारेमा छिट्टै निर्णय गर्ने उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले जवाफ नदिएकाले प्रक्रिया अनुसार अघि बढ्ने जानकारी दिए । उनले नयाँ सरकार गठनका लागि विभिन्न पार्टीसँग वार्ता गर्नुपर्ने र पार्टीको सांगठनिक क्रियाकलाप बढाउनुपर्ने भएकाले बैठक केहीदिन स्थगित गर्नुपरेको जानकारी दिए ।

यसैगरी बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेको नेता गणेश साहले जानकारी दिए । ‘२० जनाले धारणा राख्नुभयो । धेरैको भावना पार्टीलाई एकतावद्ध बनाउँदै सांगठनिक र सैद्धान्तिक रुपले चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुराहरु आए’, साहले भने, ‘अवको बैठकमा दस्तावेजसहित छलफल हुनुपर्ने मागहरु पनि उठे ।’

जनार्दन शर्माले बोल्न सुरु गरेको बैठकमा पम्फा भुसाल हुँदै रामचन्द्र झामा पुगेर टुंगिएको थियो । बैठकमा नयाँ सरकार निर्माणका लागि अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपा विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनका विषयमा समेत चर्चा भएको थियो । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र पार्टीको कार्यभारबारे रिर्पोटिङ गरेका थिए ।

प्रतिक्रिया