नचाहिने कुरा मान्दैनौं, सत्यसँग लड्दैनौँ तर बेठिक गर्नेहरुसँग झुक्दैनौँ : प्रधानमन्त्री

admin

काठमाडौं, ३ चैत : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सत्यसँग नलड्ने तर बेठीक गर्नेहरुसँग नझुक्ने चेतावनी दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उनले संयमता अपनाउन आग्रह गरेका छन् । उनले भने, ‘कहिले जङ्गली राज चलाउन खोज्दैछन् अनि विधि पद्धतिका कुरा गर्दैछन् तर हामी सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

प्रधानमन्त्री ओलीले आफूहरु सही उद्देश्यले अघि बढिरहेको स्पष्ट पारेका छन् । उनले आफूहरुको भूमिका विचारकेन्द्रित हुनुपर्ने भन्दै पार्टीका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सोहीअनुसार अघि बढ्न निर्देशन दिएका छन् ।

उनले भने, ‘हिजोको झैं तमाशा बनाउने, जग हसाउँने, सञ्चारमाध्यमलाई बिजनेश दिने कुरा अब हुन सक्दैन् । बाई द वे मात्रै यत्ति चर्चा गरेको हो । आज त चियापानको कुरा हो । एकथरी अनुहारका साथीहरु चियापानमा देखिनुभएन । उहाँहरुले बैठक बसेर पार्टीको चियापानमा नजाने भनेर निर्णय गर्नुभयो अरे, तर म त्यो पत्याउँदिन्, उहाँहरु कसको निम्ता पाए जानुहुन्छ ? थाहा त सबै छ, कसको पाए जानुहुन्छ भनेर ? यो राम्रो लक्षण होईन् । कुनै कारणवश आउनुभएन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यो चाहीँ हामीले एक नजर त्यता राखिन्छ । पार्टी विधि र विधानअनुसार चल्छ । नचाहिने कुरा मान्दैनौं । सत्यसँग नलड्ने, निहुँ खोजेकाहरुसँग नझुक्ने । बेठिक गर्नेहरुसँग झुक्दैनौ । आज सदनपनि छ । धेरैढिलो पनि गर्नुहुन्न । हाम्रो भूमिका सदैव सकारात्मक हुनुपर्छ । देश र जनताको हितप्रति हुनुपर्छ । देश र जनतालाई मन र मस्तिष्कमा राखेर अघि बढ्छौं ।’

सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि प्रधानमन्त्री ओलीले सदस्यलाई चियापानका लागि बोलाएका हुन् । नेकपा एमालेभित्रको आन्तरिक विवाद चुलिरहेको बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

सोही क्रममा प्रधानमन्त्री ओलीले खनाल-नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले बुधबार र बिहीबार आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन् । पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी समेत दिए ।

‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने । ‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे । नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु ।’

उनले बुधबारको भेलामा एक नजर त्यतातिर लगाउनेसमेत बताए । मंगलबारको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ । आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए ।

विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए । ‘यस पार्टीमा कसैमाथि अन्याय हुन्न । ठूला-ठूला अपराध भएका छन् । तर हामीले फराकिलो हृदय लिएका छौ’, उनले भने, ‘एकदम अपराध गर्नेलाई स्वागत त गर्दैनौं। तर स्वीकार्छौ। त्यसका लागि सच्चीएर काम गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई प्रश्न गरेका थिए। ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गरे । उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निमन्त्रणा र चियापान नजाने, कसको निम्ता र चियापानमा जानुहुन्छ ?’

ओलीले चियापानमा नेताहरू नआउनु राम्रो लक्षण नभएको टिप्पणी गरे । ‘कुनै कारणबस भ्याउनुभएन होला भन्ने म ठान्छु, चियापानमा नआउने निर्णय गर्नुभएन होला भन्ने म ठान्छु,’ उनले भने, ‘अझै केही समय बाँकी छ, भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यता राखिनेछ।’

ओलीले पार्टीलाई धम्क्याएर र धुर्‍क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पारे । नचाहिने कुराका अगाडि पार्टी नझुक्ने स्पस्ट पार्दै उनले सत्यसँग नलड्ने, निउँखोजहाहरूसँग नझुक्ने आफूहरूको नीति रहेको स्पष्ट पारे । ओलीले कसैले उक्साहट र विभिन्न हल्ला फैलाएर आवेश र उत्तेजनामा ल्याउन खोजे पनि संयम र गम्भीर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । यद्यपि आफूहरू लाचार भने नबन्ने उनको भनाइ छ ।

चियापान कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको छ भने वरिष्ठ नेता झलनाथ खनाल-माधव कुमार नेपाल लगायतको सहभागिता रहेको छैन । खनाल-नेपाल पक्ष चियापान कार्यक्रम बहिस्कार गरेर राष्ट्रिय भेलाको तयारीमा रहेको छ ।

पार्टीभित्रको विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका हुन् भने माधव पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको हो । चियापानमा सहभागी नभएका खनाल-नेपाल समूहका नेताहरुतर्फ लक्षित गर्दै उनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनेहरु कसको निमन्त्रणमा सहभागी हुनुहुन्छ भन्दै प्रश्नसमेत गरे ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले मंगलबारको चियापान बहिस्कार गरेका छन् । यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भन्दै बल्खुस्थित एक पार्टी प्यालेसमा एकता अभियान भेला गराएका छन् । खनाल-नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ। एमाले नेता योगेश भट्टराईका अनुसार मंगलबार दिउँसो होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ । कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गरेका थिए । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।

प्रतिक्रिया