काठमाडौं, चैत ३ : बुधबारदेखि सुरु हुने भनिएको दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान खोप अभावका कारण प्रभावित हुने देखिएको छ । बुधबारदेखि ५५ वर्ष माथिका व्यक्तिलाई खोप लगायने अभियान शुरु गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सरकारले फागुन २३ गतेदेखि ६५ बर्ष उमेर माथिका व्यक्तिलाई खोप लगाउन सुरु गरेको थियो ।
बुधबारदेखि भने ५५ देखि ६४ वर्षसम्मका व्यक्तिलाई खोप लगाउने जनाएको थियो । तर खोप अभावका कारण यो कार्यक्रम रोकिने देखिएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा.भिमसिहं तिङ्करीले बताउनुभयो । बुधबारदेखि शुरु गर्ने भनिएको खोप कार्यक्रमबारे स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।
खोप आयातमा नै समस्या परेका कारण खोप कार्यक्रम प्रभावित हुने देखिएको डा. तिङ्करीले बताउनुभयो । सरकारले भारतबाट खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ ।