विदेश जान चाहनेलाई सीप सिक्ने अवसर, यी ठाउँमा सिक्न पाइन्छ निःशुल्क सीप हेर्नुहोस्

admin

काठमाडौं, ४ चैत्र : वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने वा विदेशबाट फर्किएर सीप सिक्ने चाहनेहरूलाई निःशुल्क सीपको तालिम प्रदान गरिरहेको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै विभिन्न प्रकारका सीप तालिम निःशुल्क प्रदान गरिरहेको छ ।

बोर्डले आफ्नो रुचि अनुसार तालिममा सहभागी हुन अनुरोध समेत गरेको छ । वैदेशिक रोजगारीमा जानेहरू दक्ष भएर जाउन् भन्ने उदेश्यले विभिन्न प्रकारका सीप तालिम निःशुल्क प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

बोर्डले अहिले कुक, वेटर, हाउस किपिङ, भान्सा सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, ब्यूटीसियन, जुनियर ब्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन लगायतका तालिम सञ्चालन गरिरहेको छ ।

तालिममा सहभागी सबैको सीप परीक्षण पनि हुन्छ । परीक्षणमा पास भएमा परीक्षा दिँदा लागेको शुल्क बोर्डले फिर्ता दिन्छ । तालिममा सहभागीको ९० प्रतिशत हाजिर भएमा मात्र सीप परीक्षणका लागि योग्य हुनेछन् ।

यी ठाउँमा सिक्न पाइन्छ निःशुल्क सीप
प्रदेश अनुसार तालिम प्रदायक संस्थासमेत तोकिएको छ । बोर्ड सचिवालय, सिटीईभीटी तथा तालिम प्रदायक संस्थाहरुबीच तालिम सञ्चालन सम्झौता भएको छ । प्रदेश १ मा सुम्निमा पोलिटेक्निक ईन्स्टिच्यूट भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय ईलाममा सीप सिक्न पाइन्छ ।

यस्तै प्रदेश २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्यूट, धनुषा, बागमती प्रदेशमा बालाजु स्कूल अफ ईञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बनेपा पोलिटेक्निकल ईन्स्टिच्यूट, नारायणी बहुप्राविधिक शिक्षालय चितवन तथा जिरी प्राविधिक शिक्षालय दोलखामा सीप तालिम सञ्चालन भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा पोखरा प्राविधिक शिक्षालय पोखरामा, लुम्विनीमा कोरिया नेपाल ईन्स्टिच्यूट अफ टेक्नोलोजी रुपन्देही, शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय दाङ र भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा तालिम लिन पाइन्छ ।

कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यानमा पनि तालिम प्रदान हुन्छ भने सुदूरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक इन्स्टिच्यूट कैलालीमा बोर्डमार्फत प्रदान हुने सीप तालिम सञ्चालन भइरहेको छ ।

सबै शिक्षालयहरूबाट ७ हजार ३ सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य रहेको बोर्डले जनाएको छ । थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा रहेको कल सेन्टरमा ११४१ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया