ओलीले भ्रष्टाचारी सरंक्षण, पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे, पार्टी नेतृत्व षड्यन्त्रमा फस्यो : खनाल

admin

काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन् । बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा गुट सुरु गर्ने केपी ओली भएको भन्दै मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै गुटको सुरूवात गरेको दाबी गरेका हुन् ।

‘यो पार्टीमा ओलीले गुटबन्दी गर्नुभयो । मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गर्दै जाँदा वैचारिक र सैद्धान्तिक विषय शुन्य भयो र संगठनात्मक क्षेत्रमा अराजकता हुन थाले’, खनालले भने, ‘ पार्टी एकता पनि ओलीले नै भंग गर्न थाल्नुभयो र समस्या आए । समस्या आउदा पनि मतभेद आउँदा पनि पार्टी बाहिर लगेनौँ । पार्टी कमिटिभित्रै प्रश्न उठायो ।’

उनले पछिल्लो समय पार्टीमा आएको समस्या पनि ओलीकै कारण आएको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले केपी शर्मा ओलीले यो तीन वर्षमा स्वयं भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । उनले महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको खनालको आरोप छ ।

प्रधानमन्त्री ओलीले विवादस्पद विधेयक ल्याएको र ती विधेयक ल्याउँदा पार्टीसँग कुनै सल्लाह नगरेको खनालले स्पष्ट पारे । उनले पछिल्लो समय प्रधानमन्त्री ओलीले बैठकहरुसमेत नराखेको गुनासो पोखे । उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको सुनाए ।

‘केपी ओलीको पार्टी विभाजन गर्ने दुष्प्रयासका विरुद्ध देशव्यापी रोष प्रकट भएको छ । त्यसलाई ठोस दिशा दिन यो छलफल आयोजना गरिएको हो । छलफलले जे निष्कर्ष निकाल्छ, त्यही अनुसार पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ’, खनालको भनाइ छ । उनले ओलीले सरकारको नेतृत्व गरेदेखि नै पार्टी दक्षिणपन्थी भड्काउमा भासिँदै गएको गुटबन्दी बढ्दै गएको र आफूहरुले गुटबन्दी बन्द गर्न आवाज उठाउँदा समेत नसुनेको भन्दै आक्रोश पोखे ।

नेता झलनाथ खनालले केपी ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी गरेका छन् । उनले ओली सरकारले ल्याएको तीन आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन नसकेको बताएका हुन् । खनालले ओली स्वेछाचारी ढङ्गले अगाडि बढेको धारणा राखे ।

ओलीले पार्टीको घोषणा पत्रअनुसार काम अगाडि बढाउन नसकेको खनालले आरोप लगाए । खनालले २० को दशकबाट देशमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनःगठन र एकीकरणको थालनी गरेको बताए । एमाले र माओवादी केन्द्रको एकीकरणले ठूलो सफलता हासिल गरे पनि सोचेजस्तो परिणाम दिन नसकेको स्पष्ट पारे । उनले सर्वोच्च अदालतको रहस्यमय फैसलाले तीन वर्ष पछाडि पुगेर काम सम्पन्न गर्नुपर्ने अवस्था भएको धारणा राखे ।

उनले ओलीले केन्द्रीय कमिटीको बैठक राखेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बालुवाटारमा फाल्गुन २८ गते गुट बैठक गरेर एकलौटी निर्णय गरेको बताए । उनले (आज) बुधबारको भेलाको छलफलबाट निस्किएको निचोडबाट अगाडि बढ्ने बताए । उनले ओलीका ज्यादतीहरू तीन वर्षसम्म कठोर भएर सहनुपरेको पनि बताए ।

‘जब हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद नै विघटन गर्न पुग्नुभयो । त्यो संविधानका विरुद्ध थियो’, खनालले भने, ओलीको उक्त कदम राजनीतिक र संवैधानिक लडाइँ लड्दै संसद पुनःस्थापनापछि संविधान, लोकतन्त्र र जनताको जनादेश बचाउन र अस्थिरता अन्त्य गर्न सकियो ।’ तर, सर्वोच्चकै पछिल्लो फैसलाले ३ वर्ष अघि फर्कनुपर्ने बाध्यता आइ लागेपनि ओलीले पुरानै प्रवृति नछोडेको आरोप लगाए ।

‘नयाँ परिस्थितिमा पार्टी अध्यक्षले सवै नेतासँग विचार, विमर्श र छलफल गरेर नयाँ पहलकदमी गर्नुपर्नेमा उल्टै बालुवाटारमा गुट बैठक राखेर एकलौटी निर्णय गर्नुभयो । त्यो निर्णय विधान र सोच अनुरुप छैन’, खनालले भने, ‘पार्टीका कार्यदिशा, विधि, पद्दति उल्लंघन गर्ने, अहंकार दम्भ देखाउँदै आफ्नै ढंगले चल्न थाल्नुभयो ।’

खनालले ओलीले पहिलो क्याविनेट बनाउँदा देखिनै एकलौटी ढंग गरेको भन्दै राष्ट्रिय योजना आयोग बनाउँदा समेत कुनै छलफल नगरेको बताए । ‘तीन वर्षमा आएका नीति कार्यक्रम पनि पार्टीका कुरा समेटिएन । बजेटमा पनि पार्टीका कार्यक्रम नीति सोच प्रतिविम्बित हुन सकेनन् एकलौटी बजेट ल्याउनुभयो’, खनालको भनाइ छ ।

नेता खनालले निर्वाचनका बेला घोषणापत्रमार्फत देश सामु गरेका प्रतिवद्धता केपी ओलीले लागु नगरेको भन्दै तीन बर्षको अवधिमा देश अग्रगतिमा जान नसकेको बताए । ‘भ्रष्टाचार व्यापक बढ्दै गयो । स्वयं प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गर्न थाल्दा अन्योल बढ्दै गयो । ३ ४ सय मान्छे नियुक्ति गर्दै क्षमतावान छोडेर आसेपासेलाई मात्रै नियुक्ति गर्नुभयो’, उनले संसदमा प्राप्त गरेको बहुमतका आधारमा धेरै नयाँ विधि र नीति बनाउन सक्ने भएपनि ओलीले कुनै छलफल नगरी विवादास्पद विधेयक प्रस्तुत गरेको बताए ।

यस्ता कुरामा क्रमिक रुपमा आलोचना गर्दा ओलीले सुन्दै नसुनेको बताए । ‘नसुन्ने मात्रै नभएर बैठक नै नराखेर पार्टीका निर्णय अस्वीकार गर्दै हिँड्न थाल्नुभयो । र, पार्टी एकीकरण भएको ३ बर्ष पुग्दा पनि एकीकरण हुन सकेन । पार्टी बचाउन पनि सकिएन । पुरै पार्टी दक्षिणपन्थी अवसरवादतर्फ गयो’, खनालको भनाइ छ ।

प्रतिक्रिया