ओलीले दिएको पीडा कहिल्यै बिर्सन सकिन्नँ, ओली सच्चिए एकै ठाउँमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

admin

काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् । भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षौँसम्म सँगै लडेका साथीलाई दिनुसम्म पीडा दिएको गुनासो गरिन् ।

‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने षड्यन्त्र गर्नुभएको छ । आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको होला ? केपी ओलीले दिएको पीडा त कहिल्यै पनि बिर्सन सकिन्नँ’, शाक्यले भनिन् । अध्यक्ष ओलीमा नैतिकता नै नभएको शाक्यको आरोप छ ।

‘तपाईँले संविधान र लोकतन्त्र मास्ने नियतका साथ गरेको प्रतिगामी कदमलाई सर्वोच्चले उल्टाइदियो, यदि तपाईँमा अलिकति पनि नैतिकता बाँकी रहेको हुन्थ्यो भने राजीनामा दिइहाल्नुहुन्थ्यो तर तपाईँमा अलिकति पनि नैतिकता रहेनछ, उल्टै अरूलाई सिकाउँदै हिँड्नुभएको छ’, नेतृ अष्टलक्ष्मी शाक्यले भनिन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकताकै सहारामा ओली सत्तामा पुगेको र त्यसपछि मनपरी गर्दै एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको नेतृ शाक्यको भनाइ छ । सर्वोच्चले एमाले बिउँताइदिएपछि २०७५ सालको जेठ ३ गतेअघिकै अवस्थामा फर्कनुपर्नेमा ओलीले बालुवाटारमा गुट चलाउने र आफ्नो चाकरी गर्नेलाई मात्रै पद दिएर अरूलाई चिढाएको शाक्यको आरोप छ ।

एमालेलाई एकताबद्ध बनाउने हो भने ओलीले अहिलेसम्म गरेका गल्तीमा क्षमा माग्नुपर्ने र भविष्यमा लोकतन्त्र र पार्टीको विधान विरोधी काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने शाक्यले बताइन् । ‘आत्मालोचना गर्नुहोस्, सबैलाई समेट्नुहोस्, अवसर छ, विधान मिच्न पाउनुहुन्न । २८ गतेको निर्णय तत्कालै फिर्ता गर्नुहोस् । माफी माग्नुहोस् । हामी चाहन्छौँ एमाले एक होस्’, शाक्यले भनिन् ।

यसै क्रममा नेतृ शाक्यले प्रधानमन्त्री ओली सच्चिए अझैपनि पार्टी एकढिक्का राख्न सकिने बताएकी छिन् । उनले पार्टीमा अहिले अप्ठ्यारो स्थिति भएपनि कम्युनिस्ट आन्दोलनलाई अझै एकतावद्ध बनाएर लैजान सकिने बताइन् । उनले भेला गुटको नभई पार्टीको भएको भन्दै कम्युनिस्ट आन्दोलन बचेमात्र पद रहने बताइन् ।

केही कार्यकर्ता डराएको भन्ने सुनेको भन्दै पार्टीलाई स्पस्ट ढंगले अघि बढाउन भेला महत्त्वपूर्ण हुने बताइन् । उनले अध्यक्ष केपी ओलीलाई आग्रह गर्दै भनिन्, ‘तपाईं सच्चिनुस्, सच्चिन सक्नुभएन भने तपाईंको प्रधानमन्त्री पदको आयु हामीले तोक्नुपर्दैन ।’ ‘नैतिकता देखाउनुस्, काखा पाखा नगर्नुस्, सवैलाई समान व्यवहार गर्नुस् यसैमा तपाईंको कल्याण र हित हुनेछ ।

२८ गतेको निर्णय सच्याउनुभयो भने सम्भवत एकै ठाउँमा बस्न पनि सक्छौँ । हामी खुल्ला ढंगले एकीकृत गरेर नेपाल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ’, शाक्यको भनाइ छ । उनले पार्टीलाई छिन्नभिन्न होइन एकढिक्का बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सवै कार्यकर्ताहरु एकमत रहेको आफुले पाएको बताइन् ।

प्रतिक्रिया