पार्टी फुटाउने पक्षमा छैनौं, ओलीसँग आत्मसमर्पण गर्दिनँ : नेपाल

admin

काठमाडौं, १० चैत : नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफु नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको बताएका हुन् । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटका राजनीति गरेको बताए ।

त्यस्तै उनले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने उल्लेख गरे । नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिए । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ ।

नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको तर्क पनि गरे । ओली व्यक्तवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा राखे । नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए ।

उनले भने, ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्‍यो भने उहाँले जे-जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालि दिनुहुन्छ भने पनि, पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ । हामी आतङ्कित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’

एमालेले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाड्ने र पार्टी नफुटाउने पनि नेता नेपालले बताए । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने स्पष्ट पारे । उनले भने, ‘मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो-अँध्यारो जस्तो भयो मुसुक्क हाँसिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दै थिएँ तपाईँहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौँ, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ । हामी मैदान छोडेर भाग्नेवाला छैनौँ, पार्टी हामी फुटाउँदैनौँ । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौँ । पार्टीलाई एकताबद्ध बनाउँछौँ ।’

आफू कहिले अलमलमा र द्विविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पारेका छन् । आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘कस्ता-कस्ता कहाँ आए केपी ओली मेरो समुन्नेमा’ । केपी ओलीको अहिलेको चुरीफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताए ।

नेता नेपालले नेकपा एमाले आफूहरूको भएको पनि बताए । केपी ओली बी-माले, सी-माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौँला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बी-माले हुन्, सी-माले हुन्, उनी यो पार्टी छोडेर गए हुन्छ ।’

केपी ओली र आफूहरूको बीचमा प्रवृत्ति र विचारको लडाइँ भएको पनि नेता नेपालले बताए । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताए । उनले भने, ‘हाम्रो प्रवृत्ति सामूहिकतावादी छ । आफूलाई व्यक्तिवादी, आफूलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति केपी ओलीमा छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौँ । हामीमा त्यो सङ्गठनवादी प्रवृत्ति रहेको छ ।’

प्रतिक्रिया