घाइते साथीलाई नदीमा फालेर फरार भएका सुनील पक्राउ

admin

काठमाडौं, ११ चैत : ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका-८ का सुनील राना छन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् ।

जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ-९ पारीचौर स्थित बेलचौर-साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लुअफ १०२० नम्बरको (अस्थायी नम्बर) ट्र्याक्टरबाट खसेर गल्याङ-८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो ।

‘ट्र्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्र्याक्टरमा राखेछन्,’ अधिकारीले भने, ‘ पारीचौरबाट ट्र्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् ।’ आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म नभेटिएका उनले बताए ।

प्रतिक्रिया