प्रधानमन्त्री ओलीलाई पुरानै शैलीको घर मन पर्‍यो, अब एमालेको केन्द्रीय कार्यालय थापाथलीमा

admin

काठमाडौं, ११ चैत : नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । चक्रपथ विस्तारका कारण अहिले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सार्ने तयारी भएको हो ।

थापाथली हाइटमा सञ्जय अग्रवालको घरमा कार्यालय सर्ने लगभग पक्का-पक्की भएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । यो घर उद्योग पूर्वराज्यमन्त्री मोतीलाल दुगडले खोजेको र एक/दुई दिनमै सम्झौता हुने रिजालको भनाइ छ ।

पुरानो शैलीमा निर्मित घरको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षणसमेत गरेका छन् । बुधबार थापाथलीमै भएको अर्को कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले सर्न लागेको नयाँ भवनको निरीक्षण गरेका हुन् । ‘पुरानो शैलीको घर प्रधानमन्त्री ओलीलाई मन परेको छ, छिटै हामी थापाथलीमा सर्छौँ’, एक नेताले भने ।

विसं २०७२ को भूकम्पले बल्खुको मदननगरमा रहेको पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीको पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिइ पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक दुई लाख २५ हजार रुपैयाँ तिरिँदै आएको थियो । नेकपा एमालेले मदननगर बल्खुमा नयाँ भवनको छिटै शिलान्यास गर्ने र नयाँ भवनको काम पूरा नहुञ्जेल थापाथलीमा नै कार्यालय रहने सम्भावना रहेको पनि सचिव रिजालले जानकारी दिए ।

यस्तै उपमहासचिव विष्णु पौडेलले पनि धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको जानकारी दिएका छन् । ‘पार्टी कार्यालय सर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षले नयाँ भवनको निरीक्षण पनि गरिसक्नुभयो,’ पौडेलले भने ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमै नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्ने बताइन् । एमालेको पार्टी कार्यालय रहने भवनमा यसअघि यूएन वुमेनको नेपाल कार्यालय रहेको थियो ।

यसैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले बैशाख १ गते वा त्यसअगावै नै पार्टी कार्यालय थापाथली सर्ने बताएका छन् । उनले अहिले पार्टी कार्यालयको इन्टेरियर डिजाइनिङको काम भइरहेको जानकारी दिए । धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनेकाले आफूहरुले कार्यालय सार्नुपरेको थापाले बताए ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन अर्थात आगामी बैशाख ९ गते बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो ।

प्रतिक्रिया