काठमाडौं, ११ चैत : बेलायती पूर्व राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्नुहुने भएको छ । राजकुमार ह्यारीले नयाँ भूमिकाको सम्बन्धमा आफू निकै उत्साहित रहेको एक विज्ञप्तिमार्फत बताएका छन् । बेटरअफ संस्थामा ह्यारीको जिम्मेवारी, काम गर्ने समय, तलब आदिका बारेमा केही बताइएको छैन ।
गएको मार्च महिनामा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले कमाइका लागि काम गर्न थालेका हुन् । राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उनको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्ने बताएका छन् ।
बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोको कार्यालयमा केही समय बिताउने जनाएका छन् । सन् २०१३ मा स्थापना भएको बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ ।
यसका ६६ देशमा ४९ भाषा बोल्ने दुई हजार परामर्शदाता रहेको बताइएको छ । ह्यारी र उनकी पत्नी मेगन मर्केलको शाही उपाधि फिर्ता लिएपछि उनीहरू आमनागरिक सरह भएका छन् । राजपरिवार छाडेपछि उनीहरूको जीवनमा परिवर्तन आएको छ, उनीहरूले पाउँदै आएको सुविधा रोकिएको छ ।