दुर्गाप्रसाद तिम्सिनाले पाए नागरिकता

admin

इलाम, १२ चैत : दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । इलामको माई नगरपालिका -१० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् । उनी आफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए ।

नागरिकताका लागि कार्यालय पुगेका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३-०१-७७-०३२५१ नम्बर भएको नागरिकता प्रदान गरेका छन् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले टीका लगाउँदै खादा ओढाएर सम्मान पनि गरेका छन् ।

तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा खुसी भएको उनले प्रतिक्रिया दिए ।

नागरिकता प्रदान गर्दै अधिकृत फुयाँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तिको प्रक्रिया चालेपछि कार्यालयले नागरिकता प्रदान गर्ने बताए । तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधबार रिहाइको आदेश दिएको थियो ।

आदेशअनुसार उनी शनिबार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुट्टिएका हुन् । व्यक्ति ह’त्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतबार घर आइपुगेका थिए ।

२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मंगलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका तिम्सिना कहाँ छन् भन्ने कसैलाई थाहा पत्तो थिएन । २०१७ सालमा जन्मिएका उनी अहिलेसम्मको समय जेलमै बसेर बिताएकाले उनको नागरिकता नै बनेको थिएन ।

प्रतिक्रिया