यस वर्ष प्रदूषण र आगलागीका घटना अझै बढ्ने

admin

काठमाडौं, १३ चैत : यस वर्षको प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अघिल्ला वर्षहरुमा जस्तो यो वर्षको प्रि-मनसुनमा पर्याप्त मात्रामा पानी पर्ने सम्भावना छैन ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहे पनि पानी पार्ने प्रणाली सक्रिय नभएकाले फाट्टफुट्ट बाहेक ठूलो पानी पर्न सकेको छैन । हरेक दिन दिउँसोपछि चट्याङ्गसहित हल्का पानी परे पनि जमिन भिज्ने गरी पानी नपरेको मौसमविद् मानन्धरले बताइन् ।

यसले गर्दा सुख्खापन बढेको छ भने वातावरण प्रदूषण पनि बढ्दै गएको छ । मनसुन नलाग्दासम्म मौसम समान्यतया अहिलेको जस्तै नै रहने मौसमविद्को अनुमान छ । प्रि-मनसुनमा समेत पर्याप्त पानी पर्ने सम्भावना नरहेकाले कृषि बालीमा नोक्सानी पुग्ने सम्भावना छ ।

अहिले पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ । तर, पानी नपर्दा किसानमा अन्योल बढेको छ । पर्याप्त पानी नपर्दा सिँचाई नहुने ठाउँका बालीमा रोगकिरा लाग्ने जोखिम पनि उत्तिकै रहने विज्ञले बताएका छन् । हिजोआज प्रायः सधैँजसो मौसम धुम्म भए पनि पानी पर्न सकेको छैन ।

यस्तै, वायुमण्डलमा थुप्रिएका धुलोका कणहरु बढार्ने गरी हावा नचल्दा वायु प्रदूषण पनि उत्तिकै छ । अघिल्लो वर्षको मनसुनपछि अहिलेसम्म जमिन भिज्ने गरी पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा आगलागीका घटनासमेत बढ्दै गएको छ । बढ्दो सुख्खापनले आगलागीका घटना अझ बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

यस्तै, अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भएको छ । शुक्रबार र शनिबार मौसम यस्तै नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख प्रदेश-१ सहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया