सभामुख सेटिङमा छन्, परिस्थितिले फेरि प्रतिनिधि सभा विघटन भए म के गरूँ ? : प्रधानमन्त्री ओली

admin

काठमाडौं, १४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा सेटिङमा लागेको गम्भीर आरोप लगाएका छन् । एक अनलाइनलाई विशेष अन्तर्वार्ता दिंदै ओलीले सभामुख सापकोटाले तटस्थ भूमिका निर्वाह नगरेको बताएका हुन् ।

‘सभामुख सेटिङमा हुनुहुन्छ । पुनःस्थापित संसदको शुरू कै दिनदेखि सभामुखले सेटिङमा लागेर काम गरेको देखियो । भेट्न मसँग समय माग्नु भएको छैन । मागे भेट् त दिउँला ।’ प्रधानमन्त्री ओलीले परिस्थितिले फेरि संसद् विघटन हुन पनि सक्ने स्पष्ट संकेत गरेका छन् ।

‘संविधानमा फेरि विघटन हुनसक्ने स्पष्ट व्यवस्था छ । सेटिङमा भएका सभामुखबाट संसदले निष्पक्ष र प्रभावकारी काम गरोस् भन्ने मेरो कामना छ । तर परिस्थितिले फेरि विघटन गर्नुपर्यो भने म के गरूँ त ?’ उनले भने ।

प्रधानमन्त्री ओलीले जेलमा रहेका जसपा सांसद रेशम चौधरीलाई छाड्ने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । अदालतको आदेशले जेलमा रहेको व्यक्तिलाई छोड्ने विषय मन्त्रिपरिषद्को अधिकार भित्र नपर्ने ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीसँगको विस्तृत भिडियो अन्तर्वार्ता आज राती नौ बजे लोकान्तर डटकमको युट्युवबाट सार्वजनिक हुदै छ ।

प्रतिक्रिया