अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

admin

काठमाडौं, १४ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिनुपर्ने बेला आएको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उहाले अब धेरै दिन कुर्न नसक्ने पनि बताउनुभयो । प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको उल्लेख गनुृभयो ।

प्रचण्डले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रहगर्नुभयो । प्रचण्डले सेटिङको आधारमा निर्वाचन आयोगले गरेको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परेको जिकिर गर्नुभयो ।

त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै उहाले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताउनुभयो । नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको बताउनुभयो ।

त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई समर्थन गर्ने प्रश्न नै नभएको बताउनुभयो । आफूहरु न्यायको खोजीमा रहेको भन्दै मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने ठाकुरको भनाइ छ ।

अहिलेको परिस्थिति प्रचण्ड– नेपाल र ओलीको बेमेलका कारण निम्तिएको भन्दै ठाकुरले आफूहरुलाई लागि सत्ता भन्दा मुद्दा ठूलो भएको तर्क गर्नुभयो । कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले विश्वासको मत नदिने बताउनुभयो ।

प्रतिक्रिया