बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा

admin

काठमाडौं, १३ चैत : नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो । नेपालले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो ।

खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो । खेलको ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले गोललाइनको ठिक अगाडीबाट क्लियर गरेका थिए ।

खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सहजै बचाए ।

६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अविशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

तीन खेलाडीको डेब्यु
बंगलादेशविरुद्ध बराबरी खेलेको खेलमा नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरे ।मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाए । यस्तै डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्‍जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे

प्रतिक्रिया