भोलिदेखि तुवाँलो हट्दै जाने, प्रदूषणकै कारण हवाई उडान प्रभावित, काठमाडौंको तापक्रम घट्यो

admin

काठमाडौं, १६ चैत : काठमाडौंसहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो मंगलबारदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मंगलबारदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताए । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ ।

मंगलबार हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने मौसमविद् अर्यालले बताए । केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले प्रदूषण बढेको छ ।

विशेषगरी प्रदेश- २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । (आज) सोमबार काठमाडौं, भक्तपुर र ललितपुरसँगै हेटौँडा, सौराहा, पोखरालगायतका क्षेत्रमा प्रदूषण धेरै छ । प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

हवाई उडान प्रभावित
वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ । (अस्ति) शनिबारदेखि बढेको प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रदूषण तथा काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हो ।

गएको तीन दिनदेखि केही आन्तरिक उडानहरु रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि समय तालिका अनुसार हुन सकेको छैन । सोमबारका लागि ९७ वटा आन्तरिक हवाई उडान रहेकोमा अहिलेसम्म एउटा पनि हुन सकेको छैन ।

आइतबार एक सय ९ वटा उडान रहेकोमा ४२ वटा रद्द भएको थियो । त्यस्तै, अस्ति एक सय १४ वटामा ५७ वटा रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने रद्ध नभए पनि समय तालिका अनुसार हुन नसकेको विमानस्थलले जनाएको छ ।

काठमाडौंको तापक्रम घट्यो
तुवाँलो र प्रदूषणको असर तापक्रममा पनि देखिएको छ । लगातारजसो घाम नलाग्दा र धुलो, धुवाँ बढ्दै जाँदा काठमाण्डौमा बिहान र बेलुका चिसो महशुस हुन थालेको छ । प्रि(मनसुन सुरु भएपछि बिस्तारै गर्मी बढ्दै गए पनि तुवाँलोका कारण फेरि न्यूनतम तापक्रम घटेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

काठमाडौंको न्यूनतम तापक्रम गएको फागुन २९ गते १३ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको थियो । तर त्यसयता प्रदूषण बढ्दै गएसँगै न्यूनतम तापक्रम घट्न थालेको मौसमविद् मानन्धरले बताइन् । काठमाडौंको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस मापन गरिएको छ ।

आइतबारको न्यूनतम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । हरेक दिनजसो मौसमको अवस्था एउटै रहेकाले तापक्रम घटेको उनले बताइन् । मंगलबार बेलुकादेखि भने पश्चिमी वायुको मध्यम प्रभाव पर्ने सम्भावना रहेकाले मौसम केही खुल्न सक्ने अनुमान गरिएको छ ।

बढ्दो डढेलो र आगलागी घटना तथा सुख्खापनका कारण प्रदूषण बढ्दै गएको छ । यसपालि हिउँदमा पनि पर्याप्त पानी नपर्दा देशभर सुख्खापन बढेको छ । यसपालि प्रि-मनसुनमा पनि खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मंगलबार पश्चिमी वायुको प्रभावका कारण केही पहाडी क्षेत्रमा भने हल्का पानी पर्ने अनुमान छ ।

प्रतिक्रिया