नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बनेको छ : प्रधानमन्त्री ओली

admin

काठमाडौं, १६ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप उपलब्ध गराउनुले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदान स्वरूप प्रदान गरिएको कोरोनाविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् ।

चीन सरकारद्वारा प्राप्त सहयोगले कोरोना महामारीको विरुद्ध प्रभावकारी ढङ्गले अगाडि बढ्नका लागि महत्वपूर्ण हुने पनि बताए । उनले भने, ‘कोभिड-१९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि यो एउटा महत्त्वपूर्ण सहयोगको रूपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ । यसले अझ थप बल पुर्‍याएको छ ।’

चीनले कोरोनाविरुद्धको आठ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री ओलीले अनुदानका साथै खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएका खोप प्रभावकारी रहेको पनि बताए ।

उनले भने, ‘दुई वटै भ्याक्सिन प्रभावकारी छन् तर आ-आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’ कोरोना महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोरोनाविरुद्धको लड्न नेपालको साथमा चीन सधैँ रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया