नेपाललाई थ्री नेसन्स कपको उपाधि

admin

काठमाडौं, १६ चैत :नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए । घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो ।

खेलको १३ औं मिनेटमा संजोक राईको क्रसमा त्रिदेभ गुरुङको फितलो प्रहार बंगलादेशका डिफेन्डरले क्लियर गरे । १७ औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाएका थिए । तर, खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।

खेलको ३० औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलकिपर अघि बढेको अवस्थामा अन्जन विष्टको चिप प्रहार पोस्ट माथिबाट गएको थियो । खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले पोस्टको जाली चुमाएका हुन् । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो । दोस्रो हाफमा नेपालको प्रदर्शन केहि कमजोर देखियो । बंगलादेशले भने केहि गोलको अवसर निकालेको थियो । खेलको ६७ औं मिनेटमा यसिन अरफातको प्रहार पोस्ट नजिकबाट बाहिरिएको छ ।

त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २-१ ले विजयी भयो । जमल भुयाको कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे । यससँगै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउँन सफल भएको छ ।

प्रतिक्रिया