सर्वोच्चमा निवेदन बुझाएपछि दाहालको यस्तो प्रतिक्रिया

admin

काठमाडौं, १७ चैत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताएका छन् । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष दाहालले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताएका छन् ।

उनले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएको उनले बताएका छन् । उनले सर्वोच्च परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका कतिपय फैसलामा टिप्पणी भयो भने पुनरावलोकन हुने गरेको छ ।’

उनले देशको राजनीतिक स्थायित्व र सम्बृद्धिका लागि फैसला पुनरावलोकन हुन जरुरी रहेको समेत बताए । ‘देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र सम्बृद्धिमा नेपाल जाँदैछ । यस्तो बेलामा एकताबद्ध भैसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गर्यो त्यो सच्याउनेछ भन्ने हाम्रो विश्वास छ’, दाहालले भने, ‘नामसम्बन्धी मुद्दा थियो, रिट निवेदकले यो पार्टी टुटोस् भन्ने चाहाना राखेको पनि थिएन ।’

उनले रिट निवेदकले नाममात्रै सच्चाउने माग गरेपनि सर्वोच्चले अघि बढेर पार्टी एकता टुटाएको बताए । ‘नाम मात्रै करेक्सन होस् भन्ने थियो रिट निवेदकको तर निवेदनभन्दा बाहिर गएर गरेको निर्णय पक्कै पनि सर्वोच्च अदालतले केही दिनभित्रै गर्छ । ढिलो गर्न हुने पनि छैन’, अध्यक्ष दाहालको भनाइ छ ।

गएको फागुन २३ गते पार्टीको नाम सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।

प्रतिक्रिया