नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध प्रचण्डद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

admin

काठमाडौं, १७ चैत : नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ता गराएपछि माओवादी अध्यक्ष दाहालले सर्वोच्च अदालतले एमाले-माओवादी ब्यूँत्याउने गरी गरेको फैसला सच्याउनेमा आफू आशावादी र विश्वस्त रहेको बताए । सर्वोच्च अदालतले रिट निवेदकको माग भन्दा बाहिर गएर एकतावद्ध भएको पार्टी विभाजित गर्ने फैसला गरेको उनको भनाई छ । पार्टीका वरिष्ठ नेताहरुसहित कानून व्यवसायीको उपस्थितिमा पुनरावलोकन निवेदन दर्ता गरेको दाहालले जानकारी दिए ।

उनले पार्टीको नामसम्बन्धी रिटमा आएको फैसला अस्वभावीक र राजनीतिक प्रकृतिको भयो भनेर यसअघि नै भनेको र अहिले सबै पक्षको सल्लाहमा पुनरावलोकन निवेदन दर्ता गरेको जिकिर गरे । रिट निवेदकको पनि एकतावद्ध भएका दल विभाजित होस् भन्ने चाहना नरहेको बताउँदै दाहालले सर्वोच्चको फैसला राजनीतिक रहेकाले सच्याउनु पर्ने धारणा राखे ।

निवेदन दर्ताका लागि अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल लगाएत सर्वोच्च पुगेका थिए । सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याएको थियो ।

प्रतिक्रिया